Saturday , February 24 2018

किशोरकिशोरीका कथा

लाग्छ– उपन्यास आधुनिक युगको एउटा गद्य महाकाव्य हो, जहाँ मानव जीवनको सम्पूर्णता गद्य शैलीमा वर्णन गर्न सकिन्छ । पद्यात्मकताबाहेक यसमा अन्य महाकाव्यात्मक गुण हुनु आवश्यक मानिन्छ तापनि नवीन प्रयोग र अनुभूतिको आख्यानात्मक अभिव्यक्तिको माध्यम बन्दै जाँदा यसका विविध रूप, शैली र कला देखापरेका छन् । लेखकले जब आफ्नो र समाजको भोगाइलाई साहित्यका माध्यमबाट उद्घाटित गर्छन्, तब त्यो भोगाइले सामूहिक चेतनाको रूप लिन्छ । त्यसैले उपन्यासलाई समाज बुझ्ने दस्ताबेजका रूपमा लिइन्छ ।

आजका औपन्यासिक कृतिहरूलाई परम्परागत निश्चित आयामभित्र समेट्न सम्भव छैन किनकि हाम्रो समाजमा थुप्रै कथाहरू लुकेर बसेका छन् । ती कथाहरू एउटा शैली र एउटा आयामभित्र समेट्दा ती उपन्यास समाज बुझ्ने दस्ताबेज बन्न सक्दैनन् । त्यसैले हाम्रै समाजमा देखा परिरहेको तर अहिलेसम्म साहित्यिक आँखाले नदेखेको एउटा कथा युवा साहित्यकार निमेष पौडेलले ‘फाइभ मन्थ्स’बाट प्रस्तुत गरेका छन् ।

फरक अनुभूतिको आख्यानात्मक अभिव्यक्तिका रूपमा भर्खरै निमोचन भएको कृति ‘फाइभ मन्थ्स’ बुलबुल पब्लिकेसनबाट प्रकाशन भएको हो । २० वर्षकै उमेरमा उपन्यास लिएर आएका लेखक पौडेलले आफूले भर्खरै पार गरेर आएको उमेरको कथा यो लेखेका छन् । पछिल्नो समय तन्नेरीहरुको कलेज रोमान्स, प्रेम र बिछोडका कथाहरू पढिरहँदा त्योभन्दा तल, भर्खरै किशोरावस्थामा प्रवेश गरेका युवा-युवतीको स्कुल रोमान्स, प्रेम र परिवारको कहानीले बुनिएको ‘फाइभ मन्थ्स’ पढ्न लायक छ । ५ महिनाभित्रको घटनाक्रमलाई क्रमबद्ध रूपमा प्रस्तुत गरेर पुस्तक लेखिएको छ ।

कृतिगत अध्ययन

‘कुन्दन र सुस्मिताको बालसुलभ प्रेम र रोमान्स । सन्तानमा मदिराप्रेमी अभिभाकको इमेज । प्रेममा प्रविधि, उमेर र वर्गका अनेकन आयाम । तन्नेरीले तन्नेरी भाषामा लेखेको रसिलो र सेक्सिलो, न्यानो र स्यानो उपन्यास । उपन्यास पढ्दा हरेक पाठक एकचोटि प्रेमी हुनेछन्, प्रेमिका हुनेछन् । र, ती हरेक पाठकले उपन्यासलाई आफ्ना यार-प्रेमी-प्रेमिकसरह प्यार गर्नेछन ।’

पुस्तकको ब्याक-कभरमा उतारिएका यी शब्दले यो पुस्तकको सम्पूर्ण कथा बोल्छ । यसमा कुन्दन र सुस्मिता यो कथाको मुख्य पात्रका रूपमा परिचित छन् भने रमेश र रीता अनि कुन्दनका बाबा र आमा पनि उत्तिकै महत्वपूर्ण भूमिकामा बाँधिएका छन् । चलचित्र शैलीमा उपन्यासको कथानक प्रारम्भ भएको छ । वर्गीय हिसाबले सम्पन्नशाली परिवार मानिएको छ कुन्दनको । त्यसमाथि बाबाको सरकारी जागिर । भर्खर कक्षा ८ को जाँच दिएर बसेको कुन्दन नतिजाको पर्खाइमा छ । पढाइमा अलि कमजोर छ र उत्तिकै अल्छी पनि । रमेश उसको कक्षाको साथी, जोसँग कुन्दन धेरै घुलमिल हुन्छ । सबै कुरा ‘शेयर’ गर्छ । एउटा विश्वासिलो साथी । पढाइमा कमजोर भए पनि कक्षा ८ को परीक्षामा भने उसले ७२ प्रतिशत ल्याएको हुन्छ । यसरी कुन्दन कक्षा ९ मा जाँदा कक्षा ८ मा एउटी नयाँ युवतीको आगमन हुन्छ, जसलाई देख्नेबित्तिकै कुन्दन उसको प्रेममा पर्छ । उसको नाम हो सुस्मिता । सुस्मिता वर्गीय हिसाबले अलि कमजोर परिवारकी छोरी हो । काठमाडौंमा डेरा गरेर बस्दै आएको उसको परिवारमा पनि बाबा, आमा र एउटा दाइ छन् । बाबा र आमाले तरकारी बेचेर छोराछोरीलाई पढाउँदै आएका छन् । बिस्तारै कुन्दन र सुस्मिता एक-अर्काप्रति आकर्षित हुन्छन् र दुवै एक-अर्कालाई परिपूरक भन्ठान्छन् । प्रेमी-प्रेमिका बन्छन् ।

यस्तै रमेश र रीताको पनि केही कहानी जोडिएको छ । एउटी कक्षामा पढ्ने रीता रमेशलाई धेरै चाहन्छे तर रमेश मतलब गर्दैन । तर, बिस्तारै उनीहरु पनि एउटा प्रेम जोडी बनिसकेका हुन्छन् ।

त्यसैगरी कथाका अर्का पात्र कुन्दनका बाबा सरकारी अधिकृत र आमा गृहिणी छन् । बाबा मुटुरोगी भए पनि रक्सी धेरै पिउने बानी थियो । त्यसैले गर्दा एकदिन कुन्दन सुस्मितासँग डेटमा गएको बेला बाबाको मृत्यु हुन्छ ।

यस्तै कथावरिपरि घुमेको उपन्यासभित्र अझ थुप्रै रमाइला र नरमाइला पक्षहरू पनि धेरै छन् । समग्रमा यो कथा सुखान्तबाट सुरु भएर दुखान्तमा पुगेर अन्त्य हुन्छ ।

उपन्यासको राम्रो पक्ष

यो उपन्यासको सबैभन्दा राम्रो पक्ष भनेको विषयवस्तुको उठान हो । भर्खरै किशोरावस्था प्रवेश गरेका किशोर-किशोरीहरुको कथा शायद लेखिएको छैन होला । लेखिएको भए पनि यसरी प्रष्ट पारिएको छैन होला । त्यसैले यो विषयवस्तुको उठान नै लेखक र यो किताबको राम्रो पक्ष मान्छु । त्यस्तै, सानै उमेरमा नलेखिएको कथालाई एउटा उपन्यासमा ढाल्न सक्ने र उपन्यासलाई साँच्चै उपन्यासकै दर्जामा राख्न सक्ने लेखको खुबी पनि एउटा राम्रो पक्ष हो ।

उपन्यास कुनै कल्पनात्मकता छैन । जस्तो हामी सबैले देखेको घटनाक्रमलाई मिलाएर गद्यशैलीमा प्रस्तुत गरेका छन्, यो राम्रो पक्ष हो किनकि वास्तविकतालाई अक्षरमा उतार्नु र त्यसलाई अझ भाषिक सौन्दर्य दिनु निकै गाह्रो काम हो । त्यस्तै, सीमित पात्रहरुसँग खेलेर, बुझेर त्यसैअनुसार कथामा ढालेका छन् । कुनै-कुनै पुस्तक यस्ता हुन्छन्, जहाँ पात्रहरु धेरै भएर कथाको अन्त्य हुँदासम्म मुख्य पात्रबाहेक अरु पात्र याद रहँदैनन् । त्यसैले यो पुस्तकमा थोरै पात्रभित्र उपन्यासलाई कुँदाएका छन्, यसले गर्दा पुस्तक सरल छ । सरल भाषा र सरल शैलीमा लेखिएकाले यो पुस्तक सजिलै बुझ्न सकिन्छ ।

उपन्यासका कमजोर पक्ष

यो उपन्यासमा केही कमजोर पक्ष पनि छन् । जस्तो: भाषा कमजोर छ । सम्पादनमा हतारिएको जस्तो देखिएको छ । कहीँ-कतै त्रुटि देखिन्छन् । पुस्तकको क्वालिटी कमजोर छ । भित्री सज्जा पनि आकर्षक छैन । उपन्यासलाई बढी तन्क्याउन खोजिएको छ, जसले गर्दा शब्दहरू दोहोरिएका छन् । लेखकले काव्यिक लय प्रयोग गरेका छैनन्, जसले गर्दा पुस्तक विवरणात्मक बढी देखिएको छ । कम उमेरमा गफको परिपक्वता बढी छ । आफ्ना बुवा बितिसकेपछि कुन्दन बिनाकारण सुस्मितासँग टाढिन्छ । यसमा कुनै तार्किक प्रष्टीकरण छैन । रमेश र रीताको कथालाई पनि केही तन्काएको भए पुस्तक अझै सुन्दर बन्ने थियो ।

समग्रमा यो उपन्यास

किशोरावस्थामा प्रवेश गरेका किशोर-किशोरीलाई लक्षित गर्दै लेखिएको यो उपन्यास कमसेकम यो उमेरका पाठकले पढ्नुपर्छ । अभिभावकका लागि पनि यो उपयोगी छ । किनकि यो कथाबाट अभिभावकले सन्तानलाई र सन्तानले अभिभावकलाई हेर्ने दृष्टिकोण फेरिन सक्छ ।

पुस्तक : फाइभ मन्थ्स

विधा : उपन्यास

लेखक : निमेष पौडेल

प्रकाशक : बुलबुल पब्लिकेसन

पृष्ठ : २०१

मूल्य : रु. ३००/-

Read also at Baahrakhari :

http://baahrakhari.com/news-details/41644/2017-11-25

User Rating: Be the first one !

Check Also

अनुजा -(कथा)

पुस महिनाको एक साँझ, चिसो एकदमै बढिरहेको थियो | सूर्य आफ्नो गन्तव्यको नजिकै थियो सायद …

Leave a Reply

Your email address will not be published. Required fields are marked *